तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा बसको ठक्करबाट १० वटा गाई गोरुको मृत्यु

कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा ३ खरखरेमा बसको ठक्कर बाट १० वटा गाईगोरु मरेका छन् ।  काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको  यात्रु बसले सडकमा रहेका छाडा चौपायालाई ठक्कर दिएको बताइएको छ । मङ्गलवार राति अन्दाजी २ बजे भएको घटनाबाट  ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिनुभयाे ।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चार गाई गोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बसमा सवार यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ । मरेका गाई गोरुलाई बुद्ध भूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ । कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button