भेरी अस्पतालमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत सेवा सुरु
नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत सेवा सुरु भएको छ । डिएम नेफ्रोलोजिष्ट डा. सौरभ हमाल अस्पतालमा हाजिर भएसँगै भेरी अस्पतालमा पहिलोपटक मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत सेवा सुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेले जानकारी दिनुभयो ।
बुटवल पश्चिम क्षेत्रमा पहिलोपटक डिएम नेफ्रोलोजिष्ट डा. हमालले सेवा दिने भएपछि यस क्षेत्रका मिर्गौलासम्बन्धी समस्या भएका बिरामीहरूलाई अन्यत्र उपचार गराउन जानुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ । यसअघि विज्ञ चिकित्सक नहुँदा बिरामीहरू काठमाडौँ र छिमेकी देश भारतका विभिन्न अस्पतालमा जान बाध्य थिए ।
अस्पतालले विशिष्टीकृत सेवा बिस्तार गर्ने क्रममा नेफ्रोको सेवा पनि बिस्तार गरिएको निमित्त मेसु डा. पाण्डेले बताउनुभयो । विशिष्टीकृत सेवा अन्तर्गत भेरी अस्पतालमा न्युरो, युरो लगायतका सेवा सुरु भइसकेको छ । अब भेरी अस्पतालमा हप्ताको सोमबार, बुधबार र शुक्रबार (सार्वजनिक बिदा बाहेक) अस्पतालको ५ नम्बर ओपिडीमा मिर्गौला रोगसम्बन्धी ओपिडी सेवा, इमरजेन्सी र वार्डबाट अन्य आवश्यक सेवाहरू प्रदान हुने अस्पतालले जनाएको छ । यसअघि भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरूलाई सेवा फिजिसियन डा. पारस श्रेष्ठले दिँदै आउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्