तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्धतिमा प्लेअफ खेल्दै छ । उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै खेल म्यानमारको यांगोनमा हुनेछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि प्रारम्भिक टोली पनि घोषणा गरिसकेका छन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी पनि सुरु गरिसकेको छ । प्रशिक्षक अनेसे इटाली रहेको अवस्थामा सहायक प्रशिक्षक प्रवेश कटवालले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

क्याम्पमा हाल डुरान्ड कप खेलिरहेको त्रिभुवन आर्मी क्लब र एएफसी कप प्लेअफमा व्यस्त मच्छिन्द्र क्लबका खेलाडी भने छैनन् । आ–आफ्नो खेल सकिएपछि ती खेलाडी पनि राष्ट्रिय टोलीको तयारीमा जोडिनेछन् ।

प्रशिक्षक अनेसेले विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा साफ च्याम्पियनसिप खेलेका ६ खेलाडीलाई बाहिर राख्ने निर्णय लिएका थिए ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका थिए । साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्ड त्रय पूजन उपरकोटी, नवीन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् ।

प्रशिक्षक अनेसेले सुरुवातमा ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरे पनि त्यसमा ३ खेलाडी थपेका थिए । उनले युवा खेलाडीलाई प्राथमिकता दिने रणनीति लिएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button