तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी एमालेले संसद् चल्न दिने, गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिने

काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठक सुचारु गर्न तयार भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभामुख देवराज घिमिरे सहितको तीन दलको शीर्ष नेताहरूको बैठकमा आज सदन चल्न दिने सहमति भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो  । 

सचेतक बर्तौलाले आजको बैठकमा गृहमन्त्रीको जवाफ सुन्ने र जवाफ चित्तबुझ्दो नभएमा सदन अवरोध गर्ने बताउनु भयो । 

सचेतक बर्तौलाले  सरकारले प्रतिपक्षलाई गलाउने र जनताका बीचमा सदन एमालेका कारण चल्न नसकेको भन्ने भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । 

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सुन तस्करी प्रकरण ,बाढी पहिरो लगायतका विषयमा नेताहरूले सरकारलाई ध्यानाकर्षण  गराउने र गृहमन्त्रीले जवाफ दिने गरी आजको संसद् बैठक बस्ने सहमति भएको बताउनुभयो ।

प्रमुख सचेतक हितराज पाण्डेले सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभाग र सीआईबीले  अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान निष्कर्षमा नपुगे थप छानबिन गर्न प्रधानमन्त्री तयार रहेको बताउनु भयो  ।

 प्रमुख सचेतक पाण्डेले सुन तस्करी प्रकरणमा अहिले उच्च स्तरीय छानबिन समिति आवश्यक नहुने प्रधानमन्त्रीको धारणा रहेकोले बैठकमा सहमति जुट्न नसकेको उल्लेख गर्नुभयो  ।

 सचेतक पाण्डेले सरकार सुशासनप्रति दृढ रहेको र सदन खुलाउने विषयमा सधैँ  गम्भीर रहेको बताउनुभयो । 

 सचेतक पाण्डेले सदन अवरुद्ध नगरी  वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्नु पर्ने धारणा राख्नुभयो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण साउन  १० गते यता संसद् बैठक सुचारु हुन सकेको छैन । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button