आँखा पाक्ने रोग बढेपछि नेपालगन्जका विद्यालय बन्द
बाँके । आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि नेपालगन्जका निजी तथा संस्थागत विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको वेष्टजोन माध्यमिक विद्यालयका प्रिन्सिपल आरके गौतमले बताउनु भयो ।
उहाँले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको बताउनु भयो । ‘प्याब्सनसँग समन्वय गरेर विद्यालय बन्द गरिएको उहाँले बताउनु भयो । प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले आँखा पाक्ने समस्या देखिएका विद्यालयलाई पठनपाठन बन्द गर्न सुझाव दिएको बताउनु भयो।
नेपालगन्जका विद्यालयमा अध्ययनरत २५–३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको उहाँको भनाई छ । उपमहानगरसँग समन्वय र छलफल गरि धेरै समस्या देखिएका विद्यालयलाई मङ्गलवारदेखि बन्द गर्न भनेका छौँ । बुधवारदेखि सम्पूर्ण विद्यालय बन्द गर्न प्याब्सनले मङ्गलवार आधिकारिक सूचना निकाल्ने योजना रहेको बताउनु भयो।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले नगरका सम्पूर्ण विद्यालय बुधवारदेखि बन्द गर्ने तयारी भएको बताउनु भयो । उहाँले विद्यालय बन्दका लागि प्याब्सन, एनप्याब्सन लगायतसँग छलफल भइरहेको बताउनु भयो ,‘ एउटै विद्यालयमा सयदेखि दुई सयसम्म विद्यार्थीको आँखा पाक्ने समस्या देखिएको बताउँदै उहाँले विद्यालय बन्दका लागि उपमहानगरले मङ्गलवार सूचना जारी गर्ने स्पष्ट पार्दै प्रकोप देखिएका विद्यालयलाई अवस्था हेरेर बन्द गर्न भनेको उहाँले बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्