तपाईँ सुन्दै हुनुहुन्छः

प्रसारण क्षमतालाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू कार्यान्वयन गर्न मन्त्री शर्माको निर्देशन 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे चासो व्यक्त गर्नुभएको छ । 

रेडियो नेपालले आव २०८०/०८१ को वार्षिक प्रस्तावित कार्ययोजना, नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले रेडियो नेपालले डिजिटल प्लेटफर्मको प्रयोगलाई उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै यस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो । 

मन्त्री शर्माले प्रसारण क्षमतालाई थप सुदृढ बनाई थप प्रभावकारी बनाउने गरी कार्यक्रमहरूको कार्यान्वयन गर्न निर्देशन दिनुभएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सीले जानकारी दिनुभयो । 

रेडियो नेपालले चालु आवमा रुकुम पश्चिम, बाजुरा, सिन्धुली र पाल्पाबाट रिले प्रसारण सुरु गर्दैछ भने विराटनगर महानगरपालिकासँगको सहकार्यमा महानगर एफएम सञ्चालन गर्न लागेको छ । त्यस्तै, दाङ हेमन्तपुरमा दुई करोडको लगानीमा स्टुडियोसहित प्रादेशिक प्रसारण भवन निर्माणले यसै वर्ष पूर्णता पाउने भएको छ । 

छलफल कार्यक्रममा मन्त्री शर्मा, मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समिति, सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर राउत, सहसचिव द्वय बाबुराम भण्डारी र र नेत्रप्रसाद सुवेदी, सञ्चार विज्ञ तथा सचिवालयका पदाधिकारीहहरूको उपस्थिति रहेको थियो ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रालयका पदाधिकारी र रेडियो नेपालका प्रतिनिधिबीच समिति अन्तर्गतका रेडियो ट्रान्समिटर तथा स्टुडियो उपकरणलगायतका चल अचल सम्पत्तिको परिचालन गर्ने उद्देश्यले सम्झौता गरी उपयोग गर्न सकिने विषयमा छलफल भएको हो ।

त्यस्तै, रेडियो नेपालको डिजिटल प्लेटफर्म (ओ.टी.टी. एप्सलगायत) मार्फत थप आय आर्जनको श्रोत बनाउनको लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग सम्झौता गरी आवश्यक व्यवस्था मिलाउने, तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको उद्देश्य अनुसारका क्रियाकलापहरू सञ्चालन गरी प्रादेशिक प्रसारणलाई व्यवसायीक रुपमा अगाडि बढाउने, गीत सङ्गीत प्रशिक्षण तथा कार्यक्रम, समाचार र प्रसारण एवं प्रविधि सम्बन्धी प्रशिक्षणहरू आयोजना गर्ने, केन्द्रीय तथा प्रादेशिक तहमा गीत/सङ्गीत प्रतियोगिता/सम्मेलन आयोजना गर्ने लगायतका विषयमा छलफल भयो ।

त्यसैगरी, प्रसारणलाई मुलुकभित्र र मुलुक बाहिर प्रष्टसँग सुनाउन मिडियम वेभ, एफ.एम. र डिजिटल प्रविधि (हाललाई डिजिटल प्लेटफर्म) प्रयोग गरिएको र नेपाल सरकारको नीति अनुरुप शत प्रतिशत भू–भागमा रेडियो प्रसारणको पहुँच पुर्‍याउने क्रममा प्रसारण सेवा विस्तार अन्तर्गत यसै आव को पहिलो त्रैमासिकमा कर्णाली प्रदेशको पश्चिम रुकुममा, तेस्रो त्रैमासिक सम्ममा सुदूरपश्चिम प्रदेशको बाजुरामा र चौथो त्रैमासिक भित्र वाग्मती प्रदेशको सिन्धुलीमा र लुम्बिनी प्रदेशको पाल्पामा एफ.एम. रिले प्रसारण केन्द्र स्थापना गर्ने कार्ययोजना बारे पनि छलफल भएको छ  । 

त्यस्तै, डिजिटल प्लेटफर्मको तेस्रो त्रैमासिक भित्र समसामयिक स्तरोन्नति गर्ने तथा सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्न आवश्यक प्रशिक्षण/तालिम यसै आ.व. को दोस्रो त्रैमासिक सम्ममा र डिजिटल स्वीचओभर लगायत प्रसारण प्रविधि सम्बन्धी तालिम/कार्यशाला दोस्रो त्रैमासिकभित्र सञ्चालन गर्ने तथा पहिलो त्रैमासिक देखिनै सार्वजनिक प्रसारण सम्बन्धी विविध विषयमा समयसापेक्ष रेडियो कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्ने बारेमा समेत छलफल भएको छ ।

त्यसैगरी, सञ्चारग्रामको उद्देश्य अनुरूपका क्रियाकलापहरू अन्तर्गत महानगर एफ.एम., ई–लाइब्रेरी, रेडियो संग्राहलय, प्रशिक्षण लगायतका क्रियाकलापहरू दोस्रो त्रैमासिक सम्ममा सञ्चालन गरिने, ओ.टी. टी. एप्समार्फत थप आय आर्जनका लागि बजारीकरणको व्यवस्था मिलाउन पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमसँग White Listing  का लागि आवश्यक सम्झौता गरिने, रेडियो नेपालको सेवालाई सूचना प्रविधि मैत्री बनाउने उद्देश्य अनुरुप सेवा प्रवाह एवम् कार्य सम्पादनलाई छिटो, सरल, प्रभावकारी र पारदर्शी बनाउने, समाचार/लेखा/प्रशासन/भण्डार/इन्जिनियरिङ सेवालाई पहिलो त्रैमासिकदेखि नै डिजिटल प्रविधिमा आधारित भई क्रमशः थप सुदृढ गरिने, यसै आ.व.को दोस्रो त्रैमासिकसम्म पहिलो पटक र चौथो त्रैमासिक सम्म दोस्रो पटक सञ्चालन हुने कर्मचारीको कार्यदक्षता अभिवृद्धि सम्बन्धी फरक फरक प्रकृतिका तालिम/प्रशिक्षणमा आवश्यकता अनुसारका सेवा समूहका केन्द्रीय कार्यालय तथा प्रादेशिक प्रसारण कार्यालय /प्रसारण केन्द्र /रिले एफ.एम. केन्द्रका कर्मचारीहरूलाई सहभागी गराइने लगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button