राष्ट्रियसभाको आजको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको छ ।
सभा सुरु भए लगतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद दिलकमारी रावल थापा पार्वतीले सुन तस्करीमा संलग्नलाई कारबारीको दायरामा ल्याउन उच्च स्तरीय छानविन समितिको गठन गरी निष्पक्ष छानविन गर्न माग राख्नुभयो ।
सांसद रावलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाण सुन भित्रनू सङ्गठित अपराध, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय छविसँग सम्बन्धित रहेको भन्दै यस विषयमा सरकारले गम्भीर भई उच्च स्तरीय छानविन समिति निर्माण गरी छानविन नगरेसम्म संसद् अवरुद्ध गर्ने बताउनुभयो ।
त्यस लगतै एमालेका सांसदहरूले आसनबाट उठेर सभा अवरुद्ध गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले एमालेका सांसदहरूलाई अवरोध हटाएर सभा सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडान कायम नै राखेपछि आजको बैठक स्थगित गर्नुभएको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते बुधवार १ बजेर १ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्