तपाईँ सुन्दै हुनुहुन्छः

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन 

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री प्रचण्डले संसदीय समितिका सभापति चयनका बारेमा जानकारी गराउँदै  संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । 

बैठकमा उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव र संघीय संसद्का दुवै सदनमा सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउनुभएको थियो । 

त्यस क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकार तीन वटा विधेयक संघीय शिक्षा विधेयक, निजामती कर्मचारी र प्रहरी सम्बन्धि विधेयक दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराउनुभएको थियो । 

बैठकमा प्रमुख सचेतक पाण्डेले संसदीय गतिविधिबारे जानकारी गराउनुका साथै दुवै सदनका १२ जना सांसदहरुले धारणा राख्नुभएको थियो ।

बैठकले संघीय संसद्का दुवै सदन सुचारु गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button