हरवाचरवाको तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड
जनकपुरधाम । मधेश प्रदेशका मुक्त भएका हरवाचरवाहरुले प्रदेश सरकारसँग तथ्याङ्क सङ्कलन तथा परिचयपत्र वितरणका लागि माग गरेका छन् ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलो पटक प्रदेश सरकारले हरवाचरवाको नाउँमा कृषि मन्त्रालयमा थोरै बजेट राखेकोमा सरकारलाई धन्यवाद दिँदै आफूहरूको तथ्याङ्क सङ्कलनमा जोड दिएको छ ।
मञ्चका राष्ट्रिय महासचिव लागेन्द्र सदाले मधेश प्रदेशमा केही वर्ष अगाडी गरिएको सर्भेमा १ लाखको सङ्ख्यामा हरवाचरवा भएको देखाए पनि राम्रोसँग सर्भे भएको खण्डमा यो सङ्ख्या अझै बढी हुने बताउनुभयो । सरकारले गत वर्ष हरवाचरवामुक्त गरे पनि हरवाचरवाको आर्थिक, सामाजिक, शिक्षा तथा स्वास्थ्यको अवस्था कमजोर रहेकाले पुनर्स्थापना तथा खेतीका लागि जग्गा व्यवस्थापनको माग गर्नुभयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले पश्चिम नेपालमा हलिया, कमैया मुक्ति गरेर पुनर्स्थापनाको काम सरकारले गरेजस्तै मधेश प्रदेशमा पनि हरवाचरवाको पुनर्स्थापना तथा रोजगारीको व्यवस्था गर्नका लागि तीनै सरकारसँग माग गर्नुभयो ।
हरवाचरवाको अधिकार स्थापित गर्नका लागि सक्रिय रहनुभएका अधिवक्ता बालाराम भट्टराईले हरवाचरवाको लगत, प्रमाणीकरण र नीति निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्