तपाईँ सुन्दै हुनुहुन्छः

‘कानुन बनाउन सरकारका निकायहरू क्रियाशील बन्नुपर्छ’

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला समन्वय समितिको भूमिका विषयक अन्तरक्रिया गरि स्थापना दिवस मनाइएको हो । कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन सहित भएका अप्ठ्यारा हटाउने भन्दै आवश्यक थप कानुन बनाउन सरकारका निकायहरू क्रियाशील बनाउने बताउनुभयो।

गण्डकी प्रदेश सभा सदस्य तथा निवर्तमान मुख्य मन्त्री खगराज अधिकारीले जिल्लाको आधारभूत इकाइको रूपमा जिल्ला समन्वय समितिको बारेमा संविधानले व्याख्या गरेका व्यवस्था खुल्ला दिलले कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो। हाल जिसस लाई हेर्ने अन्यौलपूर्ण अवस्थाको अन्त्य गर्न भूमिका खेल्ने भन्दै जिससलाई संघीयता कार्यान्वयनको मुख्य बिन्दु बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव रेष्मिराज पाण्डेद्वारा तयार पारिएको जिल्ला समन्वय समितिको भूमिका र सीमाहरू विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कास्कीबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समिति गण्डकी प्रदेश अन्तर्गतका जिल्लाका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू, कार्यालय प्रमुखहरू एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button