तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन्न

विराटनगर । मोरङ जिल्लाका सबै पालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन्न भएको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गतको यो अभियान मोरङमा २०७८ साल असोज–६ गतेबाट शुरु भएको थियो ।

अभियान अन्तर्गत मोरङ जिल्लामा ७ लाख ७८ हजार ७ सय बढी विवरण सङ्कलन भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र बनाउनका लागि व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण सङ्कलन गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले एक महानगरपालिका सहित १७ वटै पालिकाका सबै वडामा सङ्कलन टोली परिचालन गरी विवरण सङ्कलन कार्य सम्पन्न गरेको हो ।

केन्द्रबाट बनेर आएका ९ सय बढी परिचयपत्र कार्ड कार्यालयले सम्बन्धित व्यक्तिहरूलाई वितरण गरिसकेको छ । परिचयपत्र बनेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस गरेर जानकारी गराइन्छ ।

राष्ट्रिय परिचय पत्र बनाउन नेपाली नागरिकता आवश्यक हुन्छ । अहिले राहदानी बनाउन पनि परिचयपत्र आवश्यक पर्छ । आगामी दिनमा नेपाल सरकारले प्रदान गर्ने १८ प्रकारका सेवा परिचयपत्रमा आबद्ध हुने भएकाले सबैलाई परिचयपत्र बनाउन समेत सहायक प्रजिअ पोखरेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button