जसले जिते पनि सुकुम्वासीका समस्या जस्ताको तस्तै

सुनसरी । बर्खाका बेला जब आकाशमा कालो बादल मडारिन थाल्छ तब भोक्राहा नरसिंह ४ र ५ नम्बर वडा अन्तर्गत सुनसरी खोला छेउको बस्तीमा बस्दै आएका सुकुम्वासीको डरैडरमा रातदिन बित्ने गर्दछ । सुनसरी खोला किनारमा पुस्तौँदेखि सुकुम्वासी जीवन बिताउँदै आएकाे दलित समुदाय वर्षासँगै बाढीको त्रासमा बाँच्न विवश छ ।
सुनसरी खोलामा आउने बाढी पटकपटक बस्तीमा पस्दै आएकाले फेरि कतै यस्तै नियति दोहोरिने होकि भन्ने चिन्ता उनीहरूमा उत्पन्न हुन्छ । त्यसैले त पानी दर्किन थालेपछि उनीहरू रातभर निदाउन सक्दैनन् ।
भोक्राहा नरसिंह वडा नम्बर ५ सुनसरी खोला छेउको सुकुम्वासी बस्तीमा टहरोमा पुस्तौँदेखि बस्दै आएका ७० वर्षीय रामानन्द रामले बर्खाका बेला आफूहरूले निकै सास्ती भोग्नु परेको बताउनुभयाे । गहभरि आँसु झार्दै उहाँले भन्नुभयाे, ‘गरिबको बोली कसले पो सुन्ने रहेछ र ?
आफू लगायत बस्तीका २३ परिवार कष्टकर जीवन बिताउन बाध्य भएकाे उहाँले बताउनुभयाे । यस्तै सुनसरी खोला छेउको सुकुम्वासी बस्तीकै सिता देवी रामले पनि बेलाबेला उर्लिएर आउने बाढी बस्तीमा पस्दा खाद्यान्नदेखि लत्ताकपडासम्म भिजेर बिजोग हुने गरेको बताउनुभयाे ।

बर्खाका बेला विशेषगरी बालबच्चा र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् । सरकारले आफूहरूकाे पीडा महसुस गर्नै नसकेकाे उहाँले बताउनुभयाे । राज्य छ भन्ने आभाष आफूहरूले पाउन नसकेको उल्लेख गर्दै उहाँले आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको बताउनुभयाे ।
सुकुम्वासी बस्तीमा बस्दै आएका अधिकांशले ज्याला मजदुरी गरेर आफ्नै दैनिकी गुजार्दै आएका छन् । बाढीले सताउने पीर एकातिर रहेका बेला आफूहरूलाई बस्तीबाटै हटाउने कुराले झनै चिन्तित पार्ने गरेकाे बुधनी देवी रामले बताउनुभयाे ।
उहाँले ज्याला मजदुरी गर्दा महिनौँसम्म ज्याला नपाउने गरेको दुःखेसो पनि पाेख्नुभयाे । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ सुनसरी खोला किनारमा पुस्तौँदेखि सुकुम्वासी जीवन बिताउँदै आएका दलित सुकुम्वासी बस्तीका बासिन्दा रजियादेवी ऋषिदेवका अनुसार निर्वाचनका बेला सबै दलका नेताहरूले समस्या समाधान गर्ने वाचा गरे पनि पूरा कहिल्यै भएन ।
खाेलामा तटबन्ध निर्माण गरिदिने, सुरक्षित स्थानमा बस्ती सारिदिने आश्वासन दिए पनि निर्वाचित भएर गएपछि अहिलेसम्म नेताहरू सुकुम्वासी बस्तीमा अनुहार समेत देखाउन नआएको उहाँले बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्