गण्डकी प्रदेश सरकारको सय दिनको कार्य प्रगति सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो एक सय दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ ।

२०८० वैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले सय दिनको अवधिमा गरेका काम सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशको नीति कार्यक्रम, बजेट, जनजीविका र प्रदेशको अधिकारका सवालमा सरकार केन्द्रित भएको बताउनुभयो ।
मन्त्रीपरिषद्को पहिलो बैठकबाट भएको लिफ्टिङ खानेपानी एवं सिँचाइ योजनाको विद्युत् महसुलमा अनुदान दिने निर्णय अनुसार गण्डकी प्रदेशका २ सय ४० वटा लिफ्ट योजना कार्यान्वयन गर्न हालसम्म १ करोड ८८ लाख २६ हजार ८ सय ८० रुपैयाँ अनुदान वितरण गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । चालु वर्षदेखि लिफ्ट सिँचाइ र लिफ्ट खानेपानीलाई अनुदान दिन सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।
“गण्डकीमा डायलिसिस सेवा र नागरिकको स्वास्थ्यमा टेवा” भन्ने नारा सहित झन्झट मुक्त र पालो कुर्नुपर्ने अवस्थालाई शुन्यमा झार्न सङ्क्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलिसिस केन्द्र स्थापना तथा सञ्चालन गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
जनजीविकाको सवालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा (यातायात), कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाई थियो ।
गण्डकी प्रदेश भित्रका एक सय ५५ वटा सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइएको छ । गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने चरणमा रहेको छ ।
निमोनिया र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड बजेट विनियोजन गरी खोप खरिद प्रक्रिया अघि बढाइएको छ ।
“सामुदायिक क्याम्पससँग प्रदेश सरकार” कार्यक्रमका लागी विनियोजन १ करोड ७५ लाख रकमलाई सरोकारवाला निकायसँग समन्वय गरी सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गर्न ५ करोड पुर्याउने प्रक्रिया सुरु गरिएको छ ।
गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक ५ हजार प्रोत्साहन दिने प्रक्रिया अघि बढाइएको लगायतका विवरण त्यस अवसरमा सार्वजनिक गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्