स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा : मन्त्री बस्नेत
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माण स्थलको अवलोकन तथा अन्तरक्रियामा उहाँले अस्पताल पूर्वाधार निर्माणका लागि जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्ग लगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।

पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो । उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युत्को पहुँचको विषयमा केही प्रश्न उठाएको थियो । सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ ।
मन्त्री बस्नेतले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणअघि नै हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस् । कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल, सडक विभागका महानिर्देशक मेघराज मरासिनी, भवन विभागका महानिर्देशक मचाकाजी महर्जन तथा जिल्ला नापी कार्यालय र विद्युत् कार्यालयका प्रमुखले आआफ्ना कार्यालयले गर्नुपर्ने जिम्मेवारी र प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
मुलुककै स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याई प्रगति हासिल गर्ने हेतुले अघि सारिएको अस्पताल निर्माणमा स्थानीय, जनप्रतिनिधि सरोकार निकाय सबैको सहयोग र समन्वयको खाँचो औँल्याउँदै अन्तरक्रियामा सहभागी वक्ताहरूले विकास र समृद्धिका लागि सबै पक्षको सहयोगमा जोड दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्