पश्चिम् नवलपरासीमा आँखा पाक्ने रोग फैलिँदै
नवलपरासी ।पश्चिम नवलपरासीमा यतिबेला आँखा पाक्ने समस्या देखिएको छ।जिल्लाका विभिन्न क्षेत्रमा आँखा पाक्ने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।अचानक आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि आम नागरिक चिन्तित बनेका छ ।
जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन् ।निजी क्लिनिक, सरकारी अस्पतालमा यो समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दो छ।चश्मा पसलमा चश्मा किन्ने मानिसको समेत सङ्ख्या बढेको छ ।
जिल्लाको सदरमुकाम परासीमा रहेको विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी बिरामी भाइरल रोगको समस्या लिएर उपचारका लागि आउने गरेको तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो । अस्पतालमा उपचारका लागि १ सय ५० जनाको हाराहारीमा दैनिक बिरामी आउनेमा अहिले बढेर ३ सय नाघेको उहाँको भनाई छ ।आउने बिरामीहरू मध्ये झण्डै ५० प्रतिशत आँखा पाक्ने रोगका बिरामी आउने उहाँले बताउनु भयो ।
एकप्रकारको भाइरसको सङ्क्रमणबाट हुने यो रोगले मानिसलाई एक हप्तादेखि १५ दिनसम्म दुःख दिने चिकित्सकहरूको भनाई छ । समस्या देखिएलगत्तै उपचारका लागि अस्पताल जान, चश्माको प्रयोग गर्न,धुलो धुवाँबाट बच्न र आँखा राम्ररी सफा गर्न चिकित्सकको सुझाव छ।
जिल्लाका स्थानीय तहले पनि औषधि अभाव हुन नदिने र तत्काल यसको न्यूनीकरणमा जुट्ने बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्