माओवादी बैठक: सदस्यहरुले धारणा राख्नेक्रम जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ ।
काठामाडौंको कमलादीमा हिजोदेखि सुरु बैठकमा आज पनि अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।
हिजोको बैठकमा १८ जना केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । आज पनि सदस्यहरुले धारणा राख्नेक्रम जारी रहने पार्टी महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमा पार्टी केन्द्रिय अध्यक्षदेखि केन्द्रिय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव गरिएको छ ।
यस्तै अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्यहरूलाई केन्द्रदेखि वडा तहसम्म समन्वय गर्ने र पार्टी सङ्गठनलाई सुदृढ गर्ने प्रस्ताव गर्नुभएको छ । हिजोको बैठकमा सदस्यहरुले जनताको चाहना भावनालाई आत्मसाथ गर्दै जनचासोका सवाललाई उच्च प्राथमिकता दिई पार्टी अगाडि बढ्नुपर्ने, सरकारका कामकारबाहीको सकारात्मक अनुभूति जनताले गर्ने गरी पार्टी र सरकारले कार्यसम्पादन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
माओवादी केन्द्रले केन्द्रिय समिति बैठकमा भएका छलफलको जानकारी हरेक दिन बैठकको समाप्तिपछि प्रवक्तामार्फत जानकारी गराउने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्