तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिर परिसरको करेसाबारी नष्ट

जनकपुरधाम । जनकपुरधामको विश्व प्रसिद्ध जानकी मन्दिरको स्वरूप बिगार्ने गरि विवाह मण्डमा लगाइएको करेसा बारी स्थानीय युवाहरूले नष्ट गरेर सो ठाउँमा फूलको उद्यान लगाउने अभियान बढाएको छ ।

स्थानीय युवा अभियन्ता सरोज मिश्रको गुवाईमा दर्जनौँ युवाहरूले जानकी मन्दिरले नै विवाह मण्डप तथा अगाडीको पार्कमा लगाएको तरकारी खेती नष्ट गर्नुका साथै सरसफाई गर्ने काम गरेको छ । अन्य छारपात पनि उखेलेर सफा गरेका छन् ।  

जानकी मन्दिरको उद्यानमा भोली देखि फूल रोप्ने अभियान अगाडी बढाउने भएको अभियानीहरुले जानकारी दिएको छ । यसका लागि जनकपुरधाम उप–महानगरपालिकाले पनि सघाउने प्रतिबद्धता जनाएको छ । उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विवाह मण्डपमा फूल लगाउने कार्यमा सघाउने प्रतिबद्धता जनाउनु भएको अभियानी सरोज मिश्रले जानकारी दिनुभयो ।  

यसका साथै मन्दिरको स्वरूप नै बिगार्ने गरि लगाइएको होडिङ  बोर्डहरू हटाउने अभियान पनि बढाएको छ । अहिले विभिन्न कम्पनी तथा व्यक्तिको प्रचार सामाग्रीहरूको बोर्ड जानकी मन्दिर परिसरमा लगाउने काम भएको छ । 

विगतमा पनि यस्ता प्रकारका बोर्डहरू अभियानीहरुले हटाएका भएपनि पुनः लगाउने काम भएको छ । विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरको शौन्दर्यमा असर पार्ने गरि कुनै पनि प्रचार सामाग्रीहरू राख्न नमिल्ने प्रावधान भएपनि लगाउने काम भएको छ । 

कतिपयले व्यक्तिगत महत्त्वाकाङ्क्षा तथा परिचयका लागि पनि जानकी मन्दिर परिसरमा प्रचार प्रसार सामाग्रीहरू राखेर कुरूप बनाउने काम गरेको छ । प्रचार सामाग्रीहरू राखे बापत केही रकम मन्दिरले लिने गरेको स्थानीय युवा अभियानीहरुले जनाएका छन् । 

मन्दिरभित्रको प्रचार सामाग्रीहरू नहटाएको खण्डमा आउँदो शुक्रवार सबै सामाग्रीहरू हटाएर सफा बनाउने युवा अभियानीहरुले जानकारी दिएका छन् ।  जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लानका लागि तयारी चलिरहेको वेलामा यस्ता प्रकारको क्रियाकलाप हुनु जायज नभएको जनकपुरधाम उपमहानगरपालिकाले पनि जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button