तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ६४ पुग्यो, १५ बर्ष माथिका बढी संक्रमित

भोजपुर । पहाडी जिल्ला भोजपुरमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्यामा वृद्धि भई रहँदा पनि जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन हुन सकिरहेको छैन । 

जनस्वास्थ्य समस्याको रुपमा देखिएको डेंगु सङ्क्रमणबाट भोजपुरमा हालसम्म ६४ जनामा संक्रमण देखिएको 

छ । सङ्क्रमितहरूमा १५ देखि ४९ बर्षसम्मका ५० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको तथ्याङ्कले देखाएको छ । यस्तै उमेरगत रुपमा १५ बर्षसम्मका ५ जना र ५० बर्ष भन्दा माथि ९ जनामा डेंगो संक्रमण देखिएको छ । 

अहिलेसम्मको अवस्थामा भोजपुरमा ४७ जना पुरुष र १७ जना महिलामा डेंगु संक्रमण देखिएको छ । 

जिल्ला अस्पतालमा परीक्षण गराउने ३४ जना, पौवादुङमा गाउँपालिका ८, टेम्केमैयुङ गाउँपालिका ५, रामप्रसाद राई गाउँपालिका ४, हतुवागढी गाउँपालिका ४, अरुण गाउँपालिका २, षडानन्द नगरपालिका ५ र साल्पासिलिछो गाउँपालिकामा २ जना डेंगु संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 

भोजपुर जिल्लामा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाहरूलाई विषादी वितरण गरिएको छ भने पालिकाहरूलाई परीक्षणका लागि किटहरू समेत वितरण गरिएको छ । 

दैनिकरुपमा सङ्क्रमणको दर बढी रहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनु पर्ने जिल्लावासीको माग रहेको छ । डेंगु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन सकेको छैन । “सङ्क्रमितको सङ्ख्या बढी रहेको छ, परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित भेटिन सक्छन् ।” स्थानीय अशोक खतिवडाले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button