सामाजिक सुरक्षा भत्ताले दियो सास्ती

सिन्धुपाल्चोक । ज्येष्ठ नागरिकहरूको जीवनयापनमा अलिकति भएपनि सहज होस भनी सरकारले दिँदै आएको वृद्ध भत्ताले ज्येष्ठ नागरिकहरूलाई भने उल्टै सास्ती दिने गरेको छ ।
सरकारले दिँदै आएको भत्ता बुझ्न बैङ्क बैङ्क धाउन परेपछि ज्येष्ठ नागरिकहरूले भत्ता बुझ्न आफूहरूले दुःख झेल्नु परेको बताएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका, वडा न १ स्याउले कातर्चेका ९० वर्षीय डम्बरबहादुर श्रेष्ठ घरबाट बैङ्क धाउनु पर्दा र बैङ्कमा पनि घण्टौँ लाइनमा उभिनु पर्दा आफूहरूलाई निकै दुःख भएको बताउनुहुन्छ । भत्ता बुझ्न अरू ज्येष्ठ नागरिकहरूसँगै लाइनमा उभिइरहनु भएका श्रेष्ठले सरकारलाई घरमा नै भत्ता बुझे प्रबन्ध मिलाई दिन पनि अनुरोध गर्नुभयो । ९० वर्ष भइसकेँ, आवतजावतमा नै समस्या छ, फेरि बैङ्कमा घण्टौँ उभिनु पर्दा यो बुढ्यौली शरीरले सारै दुख पायो श्रेष्ठले भन्नुभयो ।
हुन पनि भत्ता बुझ्न आउँदा ज्येष्ठ नागरिकहरूले अनावश्यक झन्झट र दुः ख झेल्दै आएका छन् । यातायात साधनको सुविधा भएको ठाउँमा त केही सहज होला तर घण्टौँ पैदल हिँडेर, बैङ्क चहार्दै, लाइनमा उभिएर भत्ता बुझ्नु पर्दा ज्येष्ठ नागरिकहरूले जीवनमा कहिल्यै नपाएको दुः ख पाएको अनुभव सुनाउनु हुन्छ ।
जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका तेम्बाथानकी ७२ वर्षीय फुर्वा शेर्पाले पनि यस्तै अनुभव सुनाउनु हुन्छ । शेर्पालाई भत्ता बुझ्नका लागि आफ्नो घरबाट बैङ्क पुग्न नै झण्डै चार घण्टा लाग्छ । सडकको पहुँचबाट नछोएको उहाँको घर तेम्बाथानबाट पैदल बैङ्क भएको स्थान ढाडे बजार पुग्न नै शेर्पाले ठुलै दुःख झेल्नु पर्छ । त्यसमाथि बैङ्कमा भत्ता बुझ्न घण्टौँ लाइनमा उभिनु पर्दा आफूले कहिल्यै नपाएको दुः ख पाएको उहाँ बताउनु हुन्छ ।
मासिक ४ हजारको दरले ३ महिनाको एकमुष्ट १२ हजार बुझ्न त पाइन्छ तर त्यो १२ हजारमा पनि ५ हजार मात्र बोकेर घर जानु पर्दा उहाँलाई झन दुः ख लागेको बताउनुहुन्छ । खाँदा बस्दा झण्डै सात हजार बजारमा नै सकिने उहाँको भनाई छ ।
सरकारले बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि ज्येष्ठ नागरिकहरूले अनावश्यक दुख झेल्नु परेको ज्येष्ठ नागरिक समाज सिन्धुपाल्चोकका अध्यक्ष माधवलाल कर्माचार्य बताउनुहुन्छ । भत्ता बुझ्न आउँदा बैङ्कहरूमा कम्तीमा बस्ने प्रबन्ध मिलाउनु पर्ने उहाँको धारणा छ ।
हुन पनि सामाजिक सुरक्षा भत्ता वितरणको समयमा अधिकांश बैङ्कहरूमा भीड लाग्ने गर्दछ । सबैतिरको ज्येष्ठ नागरिकहरू एकैचोटी भत्ता बुझ्न बैङ्क आउँदा आफ्नो पालो कुर्दे घण्टौँ लाइनमा उभिनु पने बाध्यतामा छन् ज्येष्ठ नागरिकहरू । ज्येष्ठ नागरिकहरूको सो बाध्यतालाई बुझेर छिटोछरितो सेवा प्रवाहका लागि बैङ्कहरूले न त सो समयमा थप जनशक्तिको नै व्यवस्थापन गर्ने गरेको छ, त न ज्येष्ठ नागरिकहरूलाई बस्नलाई कुर्सीको व्यवस्था नै गरि दिएको हुन्छ ।
ज्येष्ठ नागरिकहरूले झेल्दै आएको दुखको बारेमा आफूलाई थाह भएको र घरघरमा नै भत्ता वितरणको योजना रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा बताउनु हुन्छ । उहाँले सकिन्छ भने घरघरमा नै नभए बैङ्कसँगको समन्वय र सहकार्यमा पायक पर्ने बस्ती बस्तीमा गएर भएपनि भत्ता वितरणको योजना बनिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्