तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सवारी कारबाहीबाट २६ लाख राजश्व सङ्कलन

जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०८९/८० मा ३१ सय बढी सवारी कारबाहीमा परेका छन् । ३ हजार १ सय ७२ वटा सवारी कारबाही मार्फत गत आवमा २६ लाख ५ सय राजश्व सङ्कलन भएको ट्राफिक प्रमुख सरद चौधरीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल ११ सय ६९ वटा र सबैभन्दा कम बस २६५ वटा कारबाहीमा परेका छन् । 

ट्राफिक कार्यालयको तथ्यांकअनुसार ११ सय ५९ मोटरसाइकल कारबाहीबाट २ लाख ५८ हजार, २७५ ट्रक टयांकरबाट २ लाख ११ हजार ५ सय, २६५ मिनिबस कारबाहीमा पर्दा २ लाख ११ हजार ५ सय राजश्व सङ्कलन भएको छ । 

त्यस्तै, ४६७ कार जीप भ्यान कारबाही पर्दा ३ लाख ८३ हजार, २७९ ट्याक्टर कारबाहीबाट २ लाख ५६ हजार र ७२७ वटा टेम्पो अटो रिक्सा कारबाहीबाट ५ लाख ८० हजार ५ सय गरी जम्मा ३१ सय ७२ सवारी कारबाहीबाट २६ लाख ५ सय राजश्व सङ्कलन भएको ट्राफिक प्रमुख चौधरीले कारोबारलाई जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा मापसे प्रयोग गरी सवारी चलाउने १५० जना कारबाहीमा परेकोमा उनीहरूबाट १ लाख ५० हजार राजश्व उठेको छ ।

साथै गत आवमा २५ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए । बितेको आव ०७८÷७९ मा २५ सय १५ सवारी कारबाहीमा पर्दा २२ लाख ८२ हजार राजश्व सङ्कलन भएको थियो । भने ३१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु ६६ जना घाइते भएको थिए । 

ट्राफिक प्रहरीले गाउँ गाउँमा पुगेर विद्यार्थी,समुदाय,नयाँ चालक,व्यवसायी,सर्वसाधारण, ट्राफिक नियम सम्बन्धी ३ सय १६ पटक जनचेतनामूलक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट ४ हजार १ सय ८६ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका थिए । 

सचेतना मूलक कार्यक्रम सञ्चालन हुँदै आएपनि चालकको अटेरीकै कारण सवारी दुर्घटना वर्षेनी बढ्दै गएको छ । साँघुरो एक लेनको सडकमा हुने ट्राफिक नियम उंल्लघनले दुर्घटना बढाउने निश्चित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button