समावेशीबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिँदै समिति

काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा उठेको समावेशीताको विषयमा परराष्ट्रमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको हो ।
सरकारले परराष्ट्र सेवामा रहनुभएका सहसचिव लोकबहादुर थापालाई (नियोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधिर भट्टराईलाई फ्रान्स र घनश्याम लम्साललाई कुवेतका लागि सिफारिस गरेको छ ।
यसैगरी तेजबहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स र धनबहादुर ओलीलाई थाइल्याण्डका लागि राजदूत प्रस्ताव गरी सुनुवाईका लागि समितिमा पठाएको थियो ।
परराष्ट्रमन्त्रीसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र आगामी सोचबारे जानकारी लिने छ ।
यसअघि समितिले राजदूतमा नियुक्तिका सम्बन्धमा कुनै गुनासो वा उजुरी दिन दिएको १० दिनको समयमा पाँच वटा उजुरी परेका थिए ।
उजुरी मध्ये एउटा संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तबारे प्रश्न उठाइएको थियो ।
बैठकमा समितिका सदस्यहरुले समावेशी सम्बन्धी प्रश्नबारे सम्बन्धित पक्षसँग जानकारी लिनु पर्ने, उजुरीका नाममा विना आधार र प्रमाण दोषारोपण गर्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताउनु भयो ।
समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जस्तो व्यक्ति सिफारिस गरेपनि सदर गर्ने हुलाक कार्यालयको स्टयाम्प जस्तो समितिलाई बनाउन नहुने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्