तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको छ । 

सत्ता गठबन्धन दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् बिस्तारको तयारी गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शीर्ष नेतृत्वको बैठकमा नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुन सहमत भएको हो । 

नागरिक उन्मुक्ति पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री लिने सहमति भएको मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टले बताउनुभयो । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय काँग्रेसले पाउने सहमति भएको छ । मुख्यमन्त्री शाहले दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नु भएपछि प्रदेश सरकारले पूर्णता पाउने छ । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शाहले यसअघि सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो । हाल प्रदेश सरकारमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी र एसका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही रहनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट, मन्त्री रमेश धामीको सहभागिता रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button