भरिलो घरी केरा उत्पादन गर्ने किसान सधैँ खाली हात
नवलपरासी।एक त उचित मूल्य पाइँदैन अर्को बजारको समस्या उसैमाथि बिक्री भएको केराको भुक्तानी लामो समय सम्म रोकिदा यति बेला पश्चिम नवलपरासीका केरा उत्पादक किसान मर्कामा परेका छन् ।
जिल्लामा करिब २ हजार हेक्टरमा केरा खेती हुँदै आएको छ । सयौ किसान व्यावसायिक केरा खेतीमा आबद्ध भएका छन् ।केहिले आफ्नै जमिनमा त केहिले भाडामा जमिन लिएर केरा खेती गर्दै आईरहेका छन् ।तर बिक्री भएको केराको मूल्य समयमै नपाउँदा दैनिक जीवनयापन गर्न समेत कठिन भएको किसानको गुनासो छ ।
“भुक्तानी नपाएर उखु खेती छोडेर केरा खेतीमा लागियो यहाँ पनि अवस्था उस्तै हाम्रो पीडा कसले बुझ्ने”प्रतापपुरका केरा उत्पादक किसान लक्ष्मण सिंह थापाको गुनासो छ ।”छोराछोरी पढाउने यसैबाट हो,घरखर्च,गुजारा चलाउने पनि यसैबाट हो,मेहनतको पैसा पाइँदैन कसरी चल्ने हो !थापाले गहभरी आँसु पार्दै पीडा पोख्नुभयो ।

पश्चिम नवलपरासीका अधिकांश किसान उखु खेती बाट विस्थापित भएर केरा खेती तर्फ लागेका छन् ।चिनीमिलहरुले भुक्तानी नदिएपछि बाध्य भएर कृषकहरूले वैकल्पिक खेतीको रुपमा केरा खेती रोज्न थालेका हुन ।तर केरा खेतीबाट पनि उनीहरू सन्तुष्ट हुन सकेका छैनन् ।१०० भन्दा बढी किसानको दुई करोड बढी बक्यौता उठ्न बाकी रहेको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लक्खु यादवको भनाई छ।”समयमै भुक्तानी नपाउँदा हाम्रो मेहनत खेर जाने हो कि भन्ने चिन्ता छ,काम गर्ने किसान भन्दा बिचौलिया मोटाउने काम भैरहेको छ,सबै निकायलाई घच्घच्याउदा थाकिसक्यौ”अध्यक्ष यादवले भन्नू भयो ।

काठमाडौँ , बुटवल , नारायणगढका ठुला व्यवसायीले केरा खरिद बापतको रकम समयमा नै नदिएपछि समस्यामा परेको किसानहरूले गुनासो गरेका छन् ।केही स्थानीय व्यापारीले समेत भुक्तानी नगरेको किसानको गुनासो छ। बिचौलिया मार्फत ठुला व्यवसायीले खरिद गर्ने र भुक्तानी पनि समयमा नदिने गरेको उनीहरूको भनाई छ ।स्थानीय साना व्यवसायी र केही व्यक्तिहरू नै ठुला व्यापारी सँग मिलेर बिचमा रकम बुझ्ने गरेको किसानको दाबी छ।
भारतीय केराको कारण उचित मूल्य नपाएका नेपाली किसान सस्तोमा बिक्री गरेको केराको मूल्य पनि समयमा नै नपाउँदा खेतीबाट पनि पलायन हुनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।








प्रतिक्रिया राख्नुहोस्