लम्पी स्किन रोग : पीडित किसानलाई राहत दिने सरकारको तयारी
काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल लगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताउनुभयो । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारप्रसार नभएको समेत बताउनुभयो । लम्पी स्किन रोग दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गाईभैँसी पाल्ने किसान गरिब र निम्न वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।” किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशन समेत दिनुभयो ।
यस्तै, सो रोग नियन्त्रणका लागि ‘बर्डफक्स’ नामक खोप निःशुल्क उपलब्ध गराइने भएको छ । हाल प्रयोग भइरहेको खोपभन्दा प्रभावकारी रहेको र विश्व स्वास्थ्य सङ्गठनले समेत सो खोप प्रयोग गर्न अनुमति दिएको तथा नेपालका कृषि तथा पशुविज्ञहरुले दिएको सुझावका आधारमा बर्डफक्स खोप प्रयोग गर्न लागिएको हो ।
सो खोप प्रयोगका लागि समेत आवश्यक अनुमति दिन लागिएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार देशभर कूल ११ लाख बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय सङ्क्रमित छन् ।
पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा रु तीस अर्ब बराबरको क्षति भएको छ । यस्तै, समग्रमा रु एक खर्ब बराबरको क्षति भएको सो अवसरमा जानकारी दिइएको थियो । रोगका कारण पशु चौपाया मर्दा कतिपय जिल्लामा धान रोपाइँ समेत प्रभावित भएको छ । दूध उत्पादनमा समेत असर परेको छ । किसान प्रत्यक्ष रुपमा प्रभावित भएकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेट र मापदण्डको व्यवस्था गर्नुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्