तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट एक वर्षमा चार करोड बढीको जडीबुटी निर्यात

भद्रपुर, झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष ०७९/०८० मा चार करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा रु चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको हो ।

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि मजिठो, अमला र पदमचाल धेरै निर्यात भएको छ ।

गतवर्ष रु दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको १२७ मेट्रिक टन चिराइतो, रु एक करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो, १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला र रु १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको ठाकुरले जानकारी दिनुभयो । 

यसैगरी,  रु. ११ लाख २२ हजार मूल्य बराबरको चुत्रोको बोक्रा, रु एक लाख ६६ हजार मूल्य बराबरको कुरिलो, रु आठ लाख ८५ हजार मूल्य बराबरको धुलो धूप, रु ४० हजार मूल्य बराबरको नागबेली, रु ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु नौ लाख २४ हजार मूल्य बराबरको रिट्ठा र रु एक लाख ९५ हजार मूल्य बराबरको जटामसी भारत निर्यात भएका कार्यालयले जनाएको छ । यी जडीबुटी नेपालका पहाडी तथा हिमाली भेगमा पाइन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button