मोरङमा डेंगु नियन्त्रण रोकथाम अभियान सञ्चालन
विराटनगर । डेंगु ज्वरोका बिरामी बढेसँगै मोरङ जिल्लामा डेंगु नियन्त्रण अभियान शुरु गरिएको छ । स्वास्थ्य कार्यालय मोरङले स्थानीय तहसँग समन्वय गर्दै अभियान शुरु गरेको हो ।
जिल्लाका १७ मध्ये सात वटा पालिकामा डेंगुका बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । मोरङ जिल्लामा विगत डेढ महिनामा ८ सय ६५ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पथरी शनिश्चरे लेटाङ, बेलबारी तथा सुनबर्सी नगरपालिका साथै मिक्लाजुङ, केराबारी र कानेपोखरी गाउँपालिकामा बढी सङ्ख्यामा डेंगुका बिरामी फेला परेका छन् । पथरी शनिश्चरे नगरपालिकामा मात्रै ६ सय ५० जना डेंगुका बिरामी फेला परेका हुन् ।
डेंगुका बिरामी बढ्न थालेपछि सफाइ अभियान शुरु गर्नुका साथै विद्यालयहरूमा जनचेतनामूलक कक्षा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताउनुभयो ।

कार्यालयले जिल्लामा अहिलेसम्म रोग पत्ता लगाउन रगत परिक्षण गर्ने किटको अभाव नभएको जनाएको छ ।
विराटनगर स्थित कोशी अस्पतालमा अहिलेसम्म १५ जना डेंगुका बिरामी उपचारका लागि आए, १२ जना उपचारपछि घर फर्केको र तीन जनाको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्र भाल झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्