तपाईँ सुन्दै हुनुहुन्छः

सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्छ: मन्त्री लामा

काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्ने बताउनुभएको छ ।

शनिबार बेथानचोक गाउँपालिकाको वडा नं। ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा निर्मित वृहत् एक घर एक धारा आयोजना अन्तर्गत महांकालचौर खानेपानी तथा सरसफाई एवं थिङछाप खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री लामाले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने कुराको सुनिश्चितता गर्न संघ, प्रदेश र स्थानीय तह जिम्मेवार हुनु पर्ने बताउनुभयो । यही जिम्मेवारीलाई आत्मसात गर्दै जनताले आफूहरूलाई काम गर्न पठाएकोले प्रत्येक भोटलाई जनादेश सम्झिएर कार्य गर्दै जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

खानेपानी तथा सरसफाइसम्बन्धी नीति अनुरुप पानीको अधिकारलाई प्रभावकारी रुपमा सम्पन्न गर्न खानेपानीका संरचना एक पटक बनाएर मात्र नहुने भन्दै उहाँले दीर्घकालीन योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले खानेपानी क्षेत्रमा राष्ट्रिय नीतिका रूपमा अघि सारिएको ‘एक घर एक धारा नीति’ नारा अनुसार काम गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष हुँदा देखेको सपना र शुभारम्भ गरिएका अभियानले मूर्तरूप पाएकोमा प्रसन्नता व्यक्त गर्दै बेथानचोकमा खानेपानीका लागि समस्या छैन भन्ने सन्देश दिन सक्ने वातावरण बन्दै गएकोमा सरोकारवाला सबैको प्रशंसा गर्नुभयो ।

बेथानचोक गाउँपालिका वडा नं। ६ का अध्यक्ष विष्णु तामाङले स्वागत मन्तव्य राख्दै आयोजनाका लागि क्रियाशील सबैलाई धन्यवाद दिनुभयो ।

परियोजनाबाट महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १ हजार ७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य र वडा कार्यालयबाट १ हजार २५ जना लाभान्वित भएका छन् । उक्त आयोजना अन्तर्गत १ करोड ७५ लाख ४७ हजार २२० रुपैंयाको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button