यसवर्ष बाँकेका डेढ लाख व्यक्ति विपदबाट प्रभावित हुने पूर्वानुमान

बाँके । बाढी र अन्य विपदबाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । यस वर्ष बाढी लगायत आगलागी, भूकम्प, शितलहर जस्ता विपदबाट २५ हजार घरधुरीका एक लाख ५० हजार व्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभएको छ ।
उहाँले विपदबाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको बताउनुभयो । ‘विपदबाट एक सय जना घाइते र अस्थायी रुपमा पाँच हजार तथा स्थायी रुपमा पाँच हजार परिवार विस्थापित हुने अनुमान रहेको बताउनुभयो। ।
पिउने पानीका स्रोतहरू प्रदूषित हुने बताउँदै उनले सरुवा रोगहरू फैलिन सक्ने र यातायात, विद्युत् आपूर्ति, सञ्चार सेवा अवरुद्ध हुनसक्ने उहाँले बताउनु भयो। ‘यस वर्ष विपदबाट ६ हजार मेट्रिक टन खाद्यान्न क्षति हुने र १० हजार मेट्रिक टन अन्नबाली (खडावाली) मा क्षति, पाँच हजार हेक्टर खेती योग्य जमिनमा क्षति तथा पाँच हेक्टर घाँसबाली क्षति हुनसक्ने पूर्वानुमान रहेको बताउनुभयो ।
बाँकेका सबै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा नेपालगञ्ज उपमहानगरपालिकाको १९ र २० वडाका पाँच सय १० घरधुरीका दुई हजार पाँच सय ७० जना प्रभावित हुने अनुमान गरिएको छ ।
त्यसैगरी, कोहलपुर नगरपालिकाको २, ५, ६, ८, ९, १२ र १३ वडालाई बाढीको उच्च जोखिम क्षेत्रको रुपमा राखिएको छ । यी वडाका दुई हजार ३४ घरधुरीका आठ हजार आठ सय ९२ जनसङ्ख्या बाढीको जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । उहाँले नरैनापुर गाउँपालिकाका ६ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको बताउनुभयो ।
बाढीबाट धेरै क्षति हुने पालिकामा राप्तीसोनारी गाउँपालिकालाई पनि राखिएको छ । त्यहाँको ९ वटै वडा बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार चालू आर्थिक वर्षमा उक्त पालिकाका तीन हजार दुई सय ७९ घरधुरीका १७ हजार ६ सय ९५ जनसङ्ख्या प्रभावित हुने सम्भावना औँल्याइएको छ ।
खजुरा गाउँपालिकाका एक हजार चार सय ९५ घरधुरीका चार हजार सात सय ८० जनसङ्ख्या र जानकी गाउँपालिकाका तीन सय २६ परिवारका दुई हजार तीन सय १८ जना प्रभावित हुने पूर्वानुमान रहेको उहाँले बताउनुभएको छ।
यस्तै डुडुवा गाउँपालिका बाढीको सबैभन्दा उच्च जोखिममा रहेको आँकलन गरिएको छ । उक्त पालिकाका ६ वटै वडाका तीन हजार ६ सय ८२ घरधुरीका १९ हजार आठ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको केसीको भनाई छ ।उहाँले विपद्का घटना जुनसुकै बेला नि आउने हुँदा आम जनसमुदायमा सजग र सतर्क रहन आग्रह समेत गर्नु भएको छ।








प्रतिक्रिया राख्नुहोस्