पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरूद्वारा प्रदर्शन
वीरगञ्ज । पारिश्रमिक वृद्धिको माग गर्दै वीरगञ्जमा विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूले प्रदर्शन गरेका छन् ।
नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न माग गर्दै मजदुर संघसंगठनहरुले आज वीरगन्जमा दबाबमुलुक र्याली निकालेर प्रदर्शन गरेका हुन् ।

प्रत्येक २/२ वर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने कानूनी व्यवस्था भए पनि उद्योग सञ्चालकहरूले अहिलेसम्म पारिश्रमिक वृद्धि नगरेको भन्दै मजदुर संघसंगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । वीरगन्जको घण्टाघर चोकबाट निकालिएको र्याली माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मजदुर सङ्गठनका नेताहरूले नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न देशभरका १२ वटा ट्रेड युनियन महासङ्घले संयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइसकेको भए पनि अहिलेसम्म पारिश्रमिक वृद्धिको घोषणा नगरेपछि बाध्य भई आन्दोलनमा उत्रिनुपरेको बताए ।
मजदुर संघ सङ्गठनहरूले आइतबारदेखि आन्दोलनको थप कार्यक्रम गर्ने घोषणा गरेका छन् । घोषित कार्यक्रम अनुसार साउन १४ गते आइतबार आ–आफ्नो युनियनमा बैठक बसी तयारी गर्ने, साउन २० गते आ–आफ्नो सङ्गठनको प्रदेश स्तरीय भेला गरी परिचालन समिति गठन गर्ने, साउन २१ गतेदेखि २६ गतेसम्म आ–आफ्नो टे«ड युनियन मार्फत उद्योगलाई तलब वृद्धि गर्ने माग सहितको दबाब पत्र दिने, दबाब पत्र प्रत्येक उद्योगले श्रम मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताइएको छ ।
यसैगरी साउन २७ गते प्रदेश स्तरीय परिचालन समितिको संयुक्त बैठक बस्ने, साउन २८ गतेदेखि ३२ गतेसम्म उद्योगमा नाराजुलुश, कोणसभा र कार्यालयमा धर्ना दिइने र भदौ १ गतेदेखि अनिश्चितकालीन अवज्ञा लगायतका आन्दोलन गरिने मजदुर सङ्गठनहरूले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्