श्रमजीवी पत्रकारका पक्षमा महासङ्घले आन्दोलन गर्ने
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन गर्ने भएको छ ।
सञ्चार ग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियापछि पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चार गृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोलनमा उत्रिन लागेको जनाएको छ ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने जानकारी दिनुभयो ।
महासङ्घले श्रमजीवी पत्रकारको पारिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रम सँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ ।
कार्यक्रममा पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारको मुद्दामा नेपाल पत्रकार महासङ्घ सधैँ अग्रसर रहने जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न सञ्चार गृहले पारिश्रमिक नदिएको, बिना कारण कामबाट निकालेको जस्ता थुप्रै विषयमा पीडितले आफ्ना गुनासा राखेका थिए ।






प्रतिक्रिया राख्नुहोस्