तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री लिम्बुको अध्यक्षतामा युवा दिवस मुल समारोह समिति

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ ।

आगामी साउन २७ गते मनाइने अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मन्त्री लिम्बुको अध्यक्षतामा छ सय ५७ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

समिति सदस्यमा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित सङ्घसंस्थाका प्रतिनिधि, परिषद् सदस्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि लगायत रहनुभएको छ ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधि, परिषद्सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषद्का सबै जिल्ला युवा समितिका अध्यक्ष समेत समितिमा रहनुभएको छ । परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ ।

कार्यकारी उपाध्यक्ष बस्नेतले साताव्यापी रुपमा दिवस मनाइने जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको अवसरमा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम गरिनेछ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button