बङ्गलादेशमा विरोध प्रदर्शनअघि ५०० जना पक्राउ परेको विपक्षीको दाबी
ढाका। बङ्गलादेशको राजधानी ढाकामा सरकार विरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौँ समर्थकलाई पक्राउ गरेको बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलले बिहीबार जनाएको छ ।
बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का प्रवक्ता जहिर उद्दिन स्वपनले एएफपीसँग भन्नुभयो, “प्रहरीले बुधबारदेखि हाम्रा कम्तीमा पाँच सय ३८ जनालाई पक्राउ गरेको छ ।”
ढाका नगर प्रहरीका प्रवक्ता फारुक अहमदले अधिकारीहरूले बुधबारदेखि अहिलेसम्म तीन सय ६६ जनालाई हिरासतमा लिएको तर उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कुनै टिप्पणी नगरेको बताउनुभयो ।
ढाका प्रहरीका डेपुटी कमिसनर हयातुल इस्लाम खानले राजधानीको एक होटलमा बीएनपीका केही समर्थकलाई पक्राउ गरिएको बताउनुभयो ।
स्थानीय दैनिक प्रोथोम आलोले प्रहरी स्रोतलाई उद्धृत गर्दै बीएनपीका तीन सय ६६ समर्थकसहित चार सय ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र जनवरीमा हुने निर्वाचन तटस्थ कामचलाउ सरकारको नेतृत्वमा हुनुपर्ने माग गर्दै बीएनपी र दर्जनौँ साना सहयोगीले बङ्गलादेशभर विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
प्रधानमन्त्री हसिनाले यो माग असंवैधानिक भएको भन्दै सहमतिका लागि अस्वीकार गर्नुभएको छ ।
हसिनाको अवामी लिगले सन् २००९ देखि विश्वको आठौँ ठूलो जनसङ्ख्या भएको देशमा शासन गर्दै आएको छ र उहाँमाथि मानव अधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोप लागेको छ ।
प्रहरीले बिहीबार प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको थियो तर मुस्लिम बाहुल्य बङ्गलादेशमा शुक्रबार ¥याली हुन सक्ने बताएको थियो ।
यस महिनाको सुरुमा भएको प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भएका थिए । गत जुलाई १८ मा भएको झडपमा एक जना विपक्षी कार्यकर्ताको मृत्यु हुनुका साथै सयौँ घाइते भएका थिए ।
पश्चिमा सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्, जहाँ हसिनाको पार्टी विधायीकामा हावी छ ।
उहाँको सुरक्षा बलमाथि दशौँ हजार विपक्षी कार्यकर्तालाई हिरासतमा लिएको, गैरन्यायिक मुठभेडमा सयौँको हत्या गरेको र सयौँ नेता तथा समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्