स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे

पाटन । सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले समुदायलाई सङ्गठित गरेर दूर दराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

“दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई सार्थक बनाउन महत्त्वपूर्ण काम गर्ने अभियानमा महासङ्घ क्रियाशील होस्, उत्साहका साथ ग्रामीण जनताका बीचमा उज्यालो छर्नेमा मात्रै होइन, स्थानीय तहमा उद्योग स्थापना गर्ने काममा लाग्नुस्, त्यसका लागि आउने अप्ठ्यारो आफ्नो ठाउँबाट समाधान गर्न लागि पर्नेछु”, सभामुख घिमिरेले भन्नुभयो, “सामुदायिक हितमा ऐन बनाउने कुरा विधेयकलाई अगाडि बढाउने क्रममा बहस तथा छलफल गर्ने, सरोकारवालासँग आवश्यक समन्वय गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”

पूर्व ऊर्जा मन्त्री दीपक ज्ञवालीले नेपाल विद्युत् प्राधिकरणले गरेको कामभन्दा सामुदायिक विद्युत्ले गरेको काम सस्तो रहेको बताउनुभयो । “आफूसँग भएको विद्युत् सस्तोमा भारतलाई बेचेर महँगोमा किन्ने सरकारी नीति छ, यसले हामीलाई परनिर्भर बनाउँछ । जसले सामुदायिक विद्युतीकरण मासिन्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले नेपालको समृद्धिको आधार विद्युत् भएको बताउनुभयो । “ऊर्जा क्षेत्रको पहिलो आधार विद्युत् हो । विद्युतीकरणमा प्राधिकरणले मात्रै सबै काम गर्न सहज छैन, अर्कोतिर नीति नै अप्ठ्यारो छ । यसले समस्या पारिरहेको छ । विद्युतीकरणमा निजी क्षेत्र र समुदायलाई पनि सहभागी गराउनुपर्छ, एक मेगावाटसम्म स्थानीय समुदायलाई दिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पेट्रोल र ग्यास खरिदमा वार्षिक रु तीन खर्ब र कृषिजन्य सामग्री खरिदमा रु चार खर्ब बाहिरिने उल्लेख गर्नुहुँदै साना आयोजना सामुदायिक विद्युत् संस्थाहरूले बनाउनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व मन्त्री सूर्यमान दोङले सामुदायिक विद्युतीकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्युत्का क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने सोच र क्षमता विकास होस् भन्दै पार्टीका तर्फबाट गर्नुपर्ने काममा सधैँ सहयोग हुने बताउनुभयो ।
जनता समाजवादी पार्टी(जसपा)का नेता प्रदीप यादवले सामुदायिक विद्युतीकरणबाट देशका हरेक ठाउँमा सहजरूपमा विद्युत् पुगेको बताउँदै कमजोरीलाई सुधार गर्दै यसमा लागेका संस्थाहरूलाई स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सामुदायिक अभियानले ग्रामीण विद्युतीकरणमा सराहनीय काम गरेको बताउनुभयो । उहाँले दुई वर्षभित्र सबैलाई विद्युत् पुर्याउने नेपाल सरकारको उद्देश्यअनुरूप नेपाल विद्युत् प्राधिकरणले काम गर्न नसकेको स्थानमा लघुविद्युत्का कार्यहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरिरहेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले विद्युतीकरणमा सामुदायिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सामुदायिक संस्थाले नगरेको भए हालसम्म यति धेरै प्रगति हुँदैनथ्यो भन्ने धारणा राख्नुभयो । उहाँले विद्युत् खपत बढाउनुका साथसाथै निर्यातमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताउँदै सामुदायिक विद्युत् संस्थामार्फत भरपर्दो सेवा दिने प्रयत्न गर्न आग्रह गर्नुभयो ।
अर्थ विज्ञ रत्नसंसार श्रेष्ठले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने गरी विद्युत्को प्रवाह गराउन आग्रह गर्नुभयो । उहाँले स्वदेशमै विद्युत् खपत हुने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक संस्थाले राजनीतिक दलसरह काम गरेका छन् भन्दै सामुदायिक विद्युत्, सामुदायिक वनसँग सम्बन्धित सङ्घसंस्थाले महत्त्वपूर्ण काम गरेको धारणा राख्नुभयो ।
महासङ्घका सल्लाहकार तथा पूर्व महासचिव रामकृष्ण हुमागाईँले २०६१ साल माघ २९ गते सामुदायिक विद्युत्का १८ वटा संस्था मिलेर डिल्ली घिमिरेको संयोजकत्वमा महासङ्घको तदर्थ समिति गठन भएको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले विसं २०५८ मा सामुदायिक विद्युत् कार्यक्रम सुरु हुँदा देशका ५७ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएकामा हाल ९५ प्रतिशत विद्युतीकरण भएको जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्