तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा गत वर्ष मात्र १ हजार ४ सय जनाले लिए राहदानी

जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानी तथा नागरिक लिन लागेको भिड । तस्बिर : सागर परियार ।

जुम्ला  । जिल्ला प्रशासन कार्यालय जुम्लाको राहदानी फाँटको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा जुम्लाका १ हजार ४ सय ५ जना युवायुवतीले राहदानी लिएका छन् । 

राहदानी लिनेमा महिलाका तुलनामा पुरुष तेब्बरले बढी छन् ।  एक हजार ४ सय ५ जना मध्ये महिला २ सय ४० र पुरुष ११ सय ६५ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख नरबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार राहदानी लिने मध्य अधिकतम अनुमानित ९५ प्रतिशत व्यक्ति वैदेशिक रोजगारीका लागि जाने गरेका छन् भने बाँकी कर्मचारी, उच्च पदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेका हुन् । 

गत दुई आव पहिले २०७७/०७८ मा जुम्लाबाट विदेश जानका लागि ३ सय ३६ जनाले राहदानी लिएका थिए भने आव २०७८/०७९ को अन्तिमसम्म करिब ६ सयभन्दा बढीले राहदानी लिएका थिए । गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ । 

सङ्घीयता कार्यान्वयनमा नआउनु पहिलेसम्म जुम्लाबाट वैदेशिक रोजगारीका लागि राहदानी लिने सङ्ख्या निकै न्युन थियो भने अझ महिलाको सङ्ख्या शून्य हुन्थ्यो । तर पछिल्ला वर्षहरुमा बेरोजगारी चुलिँदै जानु, स्थानीय सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी नगर्नु, रोजगारी सृजना नगर्नु लगायतका कारणले वैदेशिक रोजगारीप्रति युवा युवतीको आर्कषण बढेको तथ्याङ्कले देखाउँछ । 

देशमा रोजगारीको अवसर नपाएपछि युवाहरू खाडीतिर जान बाध्य भएका हुन् । स्थानीय सरकारले दिने रोजगारी आफ्ना कार्यकर्तामुखी भए पनि विपन्न युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएका छन् । 

हाल कर्णाली प्रदेशको बहुआयामिक गरिबी ३९ प्रतिशत रहेको छ । यद्यपि एक वर्ष पहिलेसम्म ५२ प्रतिशत बहुआयामिक गरिबी रहेको कर्णालीमा गत वर्षको आर्थिक सर्वेक्षणले कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेको देखाएको थियो । गरिबी घटे पनि बेरोजगारीको समस्या बढ्दै गएको छ । 

राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका ९४ हजार युवायुवतीहरू रोजगारीका लागि खाडी मुलुकका गएका छन् । 

कर्णालीमा सम्भावना भएर पनि उपयुक्त रोजगारी सृजना नहुँदा कालापहाड तथा तेस्रो मुलुकमा रोजगारीका लागि भौँतारिन कर्णालीका युवा बाध्य छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button