तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एक वर्षमा ३२ जनाको डुबेर मृत्यु

बाँके । बाँके जिल्लामा गत एक वर्षमा ३२ जनाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लामा रहेका नाला, पोखरी, तालतलैया, नदी तथा अन्य ठाउँमा गरी ३२ जनाको गत आर्थिक वर्षमा पानीमा डुबेर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनु भयो ।

आर्थिक वर्ष २०७८–०७९ मा त्यसरी पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ३४ रहेको थियो ।

जिल्ला विपद् व्यवस्थापन सीमित बाँकेको आयोजनामा नेपालगञ्जमा डुबेर हुने मृत्यु रोकथाम दिवस कार्यक्रममा प्रजिअ आचार्यले उक्त कुराको जानकारी दिनुभएको हो। उहाँले वर्षेनी पानीमा डुबेर अकालमा मृत्युवरण गर्नेको सङ्ख्या ठूलो रहेकाले सबैले सजगता अपनाउनुपर्ने बताउनुभयो ।

बाँकेमा पहिलोपटक मनाइएको डुबेर हुने मृत्यु रोकथाम दिवसमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा डुबेर हुने मृत्यु दर वर्षेनी बढ्दै गइरहेको भन्दै सावधानी र सतर्कता अपनाउनुपर्नेमा सहभागीहरूले जोड दिनुभयो ।

हरेक वर्ष जुलाई २५ मा पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिए पनि बाँकेमा भने पहिलो पटक मनाइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, उपनिर्देशक दोलख डाँगीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button