तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । 

आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उहाँले विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का समक्ष सम्बन्धित अधिकारीहरुले  देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो । 

पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो । उहाँले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको अध्यक्षतामा बसेको आजको बैठकमा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू समेतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button