तपाईँ सुन्दै हुनुहुन्छः

चीनका विदेशमन्त्री किन गाङ पदमुक्त, नयाँ जिम्मेवारी वाङ यीलाई

बेइजिङ। एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उहाँको स्थानमा उहाँभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ ।

किनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय किन अनुग्रहबाट हट्नुभएको थियो वा आधिकारिक अनुसन्धानको अधीनमा हुनुहुन्थ्यो भन्ने अड्कलबाजीहरू सुरु भएका छन् ।

चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका कारण’ जिम्मेवार रहेको बताए पनि पछिल्लो समय यस सम्बन्धमा प्रतिक्रियाका लागि एएफपीले सम्पर्क गर्दा कुनै जानकारी दिन अस्वीकार गरेको थियो ।

सिन्ह्वाले किनलाई पदबाट हटाउनुको कारण खुलाएको छैन तर सीले उक्त निर्णय लागू गर्न राष्ट्रपतिय आदेशमा हस्ताक्षर गरेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार किनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताउनुभयो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button