तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई निर्माण व्यवसायी सङ्घको ज्ञापनपत्र

काठमाडौँ । काठमाडौँ उपत्यका निर्माण व्यवसायी सङ्घले निर्माण व्यवसायीहरूका विभिन्न समस्याहरूको समाधानको माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

काठमाडौँ उपत्यका निमार्ण व्यवसायी संघका कार्यवाहक अध्यक्ष कविन्द्र महर्जनसहितको टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र मार्फत निर्माण व्यवसायीहरूले सरकार र सरकारी सम्बद्ध पक्षसँग लिनुपर्ने बाँकी बक्यौता उपलब्ध गराउन समेत माग गरेको छ । साथै विभिन्न कारणले समयमा सम्पन्न हुन नसकेका निर्माणका योजना तथा कार्यक्रमको ठेक्का सम्झौताको समय अवधि थप गरी कामलाई अगाडि बढाउन सहयोग गर्न सरकारसँग आग्रह गरेको छ । 

बजेटको पूँजीगत खर्चको करिब ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई अझ बढी कर्तव्य निष्ठावान्, जिम्मेवार र जबाफदेही बनाई यस क्षेत्रलाई सुदृढ बनाउनका निम्ति अधिकार सम्पन्न बनाउनसमेत माग गरिएको छ ।

निर्माणकार्य सम्पन्न गरेपश्चात् भुक्तान हुन बाँकी रहेको अरबौँ रकम समयमा भुक्तानी नहुँदा व्यवसायी मारमा परेको हुँदा सो समस्याको समाधान हुनुपर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आज नै देशभरिका निर्माण व्यवसायीहरूले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको निर्णयअनुसार नै सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button