नेपालगञ्जबाट १४ करोडको प्लाइउड भारत निकासी
बाँके ।नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपैयाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपैयाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।
नेपालगञ्जमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेको प्लाइउड भारत निकासी गर्दै आएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा गत आवमा धेरै मूल्यको प्लाइउड भारततर्फ निकासी भएको छ ।
भन्सार कार्यालय नेपालगञ्जका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार आव २०७८/०७९ मा ८० लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड भारततर्फ निकासी भएको थियो । प्लाइउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।
नेपालगञ्ज नाकाबाट जडीबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । पछिल्लो समय नेपाली प्लाइउडको भारतमा अत्यधिक माग बढेको बाँकेको जानकी गाउँपालिका ३ इन्द्रपुरमा रहेको प्लाइउड उद्योग मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले जानकारी दिनुभयो।
मियाले भन्नुभयो “केही समय अघिसम्म उत्पादन थन्किएपछि बैङ्कको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थियो, अहिले भारत जान थालेपछि समयमै कसरी सामान दिने भन्ने चिन्ताले सताउने गरेको छ ।”
नेपाली व्यवसायीहरूका अनुसार अहिले भारतको प्रयागराज सहित कानपुर, लखनउ, आगरा, बहराईच, नानपारा लगायतका शहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् । भारतीय व्यापारीहरूको रोजाइमा २९ जातबाट तयार पारिएको प्लाइउड, ढोकाहरू पर्न थालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्