नेपालगञ्जमा पहिलोपटक मृगौलाको बायोप्सी सेवा सुरु
नेपालगन्ज । नेपालगञ्जमा पहिलोपटक मृगौलाको बायोप्सी सेवा सुरु भएको छ । मृगौलाका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित लाइफलाइन जनरल अस्पतालमा पहिलोपटक बायोप्सी सेवा सुरु गरिएको हो ।
बुटवलदेखि पश्चिममा पहिलोपटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन बायोप्सी सेवा सुरु गरिएको लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मृगौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले बताउनुभयो ।
पिसाबबाट धेरै प्रोटिन जानु, कम उमेरमै मृगौलामा समस्या देखिनु लगायत मृगौलासम्बन्धि अन्य विभिन्न समस्याका कारण बायोप्सी सेवाबाट थाहा हुने मृगौला रोग विशेषज्ञ डा. श्रेष्ठले बताउनुभयो।
यो सेवा अन्तर्गत मृगौलाको सानो टुक्रालाई शरीरबाट निकालेर जाँचका लागि बाहिर ल्याबमा पठाइने र रिपोर्ट आएपछि उपचार सुरु गरिन्छ । लाइफलाइन जनरल अस्पतालका अनुसार नेपालगञ्जबाट गरिएको बायोप्सीको जाँच भारतको नयाँ दिल्लीस्थित लाल प्याथ ल्याबमा पठाउने गरिएको छ । रिपोर्ट आउन १४ दिन लाग्दछ ।
अस्पतालका प्रमुख डा. श्रेष्ठले हालसम्म बर्दियाका दुई र बाँकेका दुई गरेर चार जनाको बायोप्सी गरिएको जानकारी दिँदै जाँचका लागि दिल्ली पठाइएकोमा रिपोर्ट कुरिरहेको बताउनुभयो । हाल महिनामा दुई पटक मात्र बायोप्सी गर्ने गरिएको छ । डा. पारस श्रेष्ठ, डा. क्रिस्टी श्रेष्ठ र पाटन अस्पतालका डा. विमल पाण्डे गरेर तीन जना चिकित्सकको टोलीले बायोप्सी गर्ने गरेको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्