काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको पाँचौँ दिनको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
आजको बैठकमा पनि समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरू माथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
साउन २ गतेदेखि शुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेश गर्नुभएको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ ।
पाँचौँ दिनको बैठक सुरु हुँदासम्म १ सय १५ जनाभन्दा बढी नेताहरूले आफ्नो धारणा राख्नुभएको छ ।
बैठकको दोस्रो दिन साउन ३ गते बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ जना र साउन ४ गते बिहीबार ३५ केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो भने साउन ५ गते शुक्रबार ३४ जनाले आफ्नो धारणा राख्नुभएको थियो ।
आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
साउन २ गतेदेखि जारी बैठक शनिबार भने बसेन । साउन ५ गते शुक्रबार बसेको बैठक सक्नुअघि सभापति शेरबहादुर देउवाले बैठक ७ गते (आज) सम्मका लागि स्थगित हुने बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्