तपाईँ सुन्दै हुनुहुन्छः

बिपीको विचार र आदर्श सदैव अनुकरणीय : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको विचार र आदर्श कुरा सदैव अनुकरणीय रहेको बताउनुभएको छ ।

file photo

नेपाली काँग्रेस सुनसरीले बिपी स्मृति दिवसको अवसरमा आज इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बिपी कोइरालासहित स्वर्गीय गिरिजा प्रसाद कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा वर्तमान पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले मुलुकमा स्थायी शान्तिको स्थापना र जनताको समुन्नत नेपालको चाहनालाई पूरा गर्ने गरी नेपाली काँग्रेस ठूलो पार्टी भएकाले अझै प्रभावकारी भूमिकाका साथ अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

पार्टीको जिल्ला सम्मेलनको सन्दर्भमा पार्टीको सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले काँग्रेसका नेता तथा कार्यकर्ता एकजुट रहँदासम्म काँग्रेसलाई कसैले पनि सिध्याउन नसक्ने र काँग्रेस एक नम्बरको पार्टी रहिरहने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेसलाई अगाडी बढाउन एक आपसका अन्तरकलह त्यागेर लोकतन्त्र र समाजवादका लागि पूर्ण प्रतिबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

आजै पार्टी सभापति देउवाले इनरुवा नगरपालिका–९ बवियामा बिपी कोइरालाको पूर्ण कदको सालिक समेत अनावरण गर्नुभयो । त्यस अवसरमा उहाँले पार्टीमा विशिष्ट योगदान पुर्‍याउने जिल्लाका केही नेता तथा कार्यकर्तालाई सम्मान पनि गर्नुभयो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका नेताहरू रमेशजंग रायमाझी, राजीव कोइराला, सिताराम मेहता, राजीव ढुङ्गाना, अमृत अर्याल, मीन विश्वकर्मा, लक्ष्मी खतिवडा लगायतले बिपी विचारका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button