तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चारको समस्या समाधानका लागि अभियान सुरु : मन्त्री शर्मा

वीरगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि अभियान सुरु गरिएको बताउनुभएको छ ।

उहाँले दूरसञ्चार क्षेत्रमा उत्पन्न समस्या पहिचान गरी समाधानको खोजी गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले दूरसञ्चार सेवालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

उहाँले मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठुलो योगदान गरिरहेको उल्लेख गर्नुहुँदै देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने तयारी सरकारले गरिरहेको बताउनुहुँदै शिक्षालाई प्रविधियुक्त बनाउन सरकार जुटिरहेको बताउनुभयो । उहाँले आफूले मन्त्रीको पद बहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिनुहुँदै यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने सरकारको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उहाँले नेपाल टेलिकमलाई आग्रह गर्नुभयो ।

जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा देखिएका समस्या समाधानका लागि वन मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०/०८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति र कार्यक्रम तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो ।

अन्तरक्रियाको अवसरमा उठेका विभिन्न जिज्ञासाबारे कम्पनीका प्रमुख व्यावसायिक तथा प्राविधिक अधिकृत सङ्गीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान र प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका निर्देशक अमूल प्रधानले जवाफ दिनुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवम् नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्यहरू किसान श्रेष्ठ, ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाहीका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button