प्रदेश सभामा उपयुक्त कानुन तर्जुमा र राष्ट्रहितमा बहस गर्न सभामुखको आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले ठिक ढङ्गले सभा सञ्चालन तथा उपयुक्त कानुन तर्जुमा गर्दै जनता, राष्ट्रहितमा बहस, छलफल गर्न प्रदेश सभामुख र उपसभामुखलाई सुझाव दिनुभएको छ ।

सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान तथा अन्तरक्रियामा उहाँले अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली उपयुक्त रहेकाले जनताको हितमा कसरी काम गर्ने भन्नेमा बहस र छलफल केन्द्रित गर्न आग्रह गर्नुभयो ।
संविधानको मर्म र भावनाअनुसार ऐन, कानुन बनाएर जनताको पक्षमा काम गर्ने सिर्जनशील बाटो रोज्न सक्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले प्रदेशगत विविधता र विशिष्टताका आधारमा जनअपेक्षा अनुरूप काम गर्न सुझाव दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निष्पक्ष, विधिसम्मत र अन्तर्राष्ट्रिय मूल्यमान्यतामा आधारित रहेर सभा सञ्चालन गरी सदनलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो ।
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले संसद् सफल हुन सभामुख र सांसदको भूमिका, बोलाइ र गराइमा एकरूपता कायम हुनुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले सङ्घीयता कार्यान्वयन, सभा सञ्चालनमा देखिएका जटिलता हटाउन भेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालन र कानुन तर्जुमा लगायत विषयमा प्रदेशमा देखिएका भिन्नतालाई एकरूपता कायम ल्याउने सवालमा भेलाले निकाल्ने निष्कर्ष फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सङ्घीय संसद्, प्रदेशसभा सञ्चालनसम्बन्धी भोगाइ, बुझाइ, अनुभव र चुनौतीमाथि जीवन्त छलफल हुने अपेक्षाका साथ भेला आयोजना गरिएको बताउनुभयो ।
अन्तरक्रियामा सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन र कानुन निर्माणमा देखिएका चुनौती र असल अभ्यासबारे अनुभव आदानप्रदान हुनेछ ।
दुई दिने कार्यक्रममा सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख, उपसभामुख, सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिव तथा प्रदेशसभाका सचिवको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्