तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा गाउँपालिकाबाटै श्रम स्वीकृति सुरु

बाँके । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।

नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारै उक्त काम सुरु गरिएको हो ।

नरैनापुरबाट पहिलो दिनमा ३ जनाले उक्त सेवा लिएका छन् ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताउनुभयो ।

उहाँका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, बिमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषको पैसा नलाग्ने संयोजक मुकेरीले बताउनुभयो । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उहाँहरूलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button