चापाकल धारा सुकेसँगै बीरगंजमा खानेपानीको अभाव

बीरगंज । बीरगंज महानगरपालिकामा ९० प्रतिशतभन्दा बढी खानेपानीको चापाकल धारा सुकेपछि हजारौँ परिवार प्रभावित भएका छन् ।
महानगरपालिकाको बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रहरूमा पनि चापाकल धारा सुकेर खानेपानीको अभाव भएसँगै अहिले बीरगंज महानगरपालिका सहित आसपासका स्थानीय पालिकाहरूले बीरगंजमा ट्याङ्करमार्फत खानेपानी वितरण गरि रहेका छन् ।
लामो समयदेखिको खडेरी र बर्षायाममा समेत पानी पर्न नसकेपछि अहिले बीरगंजमा खानेपानी संस्थानको धारा जडान नभएका घरहरूमा खानेपानीको अभाव भएको महानगरपालिकाले जनाएको छ ।
हजारौँ परिवार खानेपानीको अभावको कारण प्रभावित भएसँगै बीरगंजमा जथाभाबी डिप बोरिङ गाड्ने क्रम बढेपछि महानगरपालिकाले अनधिकृत रुपमा डिप बोरिङ नगाड्न सूचना जारी गरेको छ ।
बीरगंज महानगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रमा अनुमति विना जथाभाबी डिप बोरिङ गाड्ने कार्य भई रहेको प्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको बताउँदै इजाजत नलिई अनधिकृत रुपमा डिप बोरिङ गाड्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय खानेपानीको अभाव भन्दै प्राविधिकहरूको सल्लाह बिना जथाभाबी अनधिकृत रुपमा डिप बोरिङ गाडिएपछि विगतमा पानी आएका धारा समेत सुकेका छन् । जथाभाबी डिप बोरिङ गर्दा थप समस्या उत्पन्न भएको भन्दै महानगरले स्वीकृति लिएर मात्रै डिप बोरिङ गर्न आग्रह गरेको छ ।

खानेपानीको अभाव भएसँगै वीरगन्ज महानगरसहित विभिन्न संघ संस्थाहरूले नगरका ३२ वडाका विभिन्न स्थानहरूमा डिप बोरिङ जडान गरेका छन् ।
वीरगञ्ज महानगरपालिकासँग कुनै अनुमति वा पूर्व स्वीकृत नलिई जथाभाबी डिप बोरिङ जडान भएको पाइएको हुँदा सो कार्य तत्काल बन्द गर्न र अनुमति लिएर मात्र जडान गर्न महानगरपालिकाले आग्रह गरेको छ ।
अनुमति बिना जथाभाबी रुपमा डिप बोरिङ जडान गरेको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुबैलाई महानगरपालिकाले कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्