तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थल अनुगमनमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नु भएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे अनुगमन गर्नुभएको हो। उहाँले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको विषयमा चासो व्यक्त गर्नुभएको छ । 

गृहमन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू सहित अनुगमनमा जानुभएको थियो ।

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पास समेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको थियो ।

अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताउनुभयो। “राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो।” उहाँले भन्नुभयो- “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ। तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ।”

वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिनुभएको र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर छानबिन गरी समाधान गर्ने विश्वास गृहमन्त्री श्रेष्ठले लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button