तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ’

ललितपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताउनुभएको छ ।

लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्र प्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताउनुभयो ।

राजनीति विश्लेषक तथा पूर्वसांसद लालबाबु यादवले २०६२र६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राख्नुभयो । उहाँले किताब मेचीबाट महाकालीसम्म पुर्‍याएर लोकतन्त्रको विकास र प्रवर्द्धन गर्दै राष्ट्रियतालाई मजबुत बनाउन आग्रह गर्नुभयो । विश्लेषक यादवले विपी कोइरालाको दृष्टिकोणलाई बिर्सेर काँग्रेसले विश्व बैङ्कको दृष्टिकोणलाई बोकेको भन्दै इतिहास बिर्सेर राष्ट्रियता र लोकतन्त्र सबल हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उग्र स्वभावका विद्यार्थी नेता लाओस राईसँग आन्दोलनमा चिनजान भएको बताउँदै किताब लेखन गरेर राष्ट्रवादका बारेमा बहसको वातावरण सिर्जना गरेको धारणा राख्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा कांग्रेसका नेता गुरुराज घिमिरेले लेखन र राजनीतिलाई समानान्तर रूपमा लान सकियो भने राजनीति परिष्कृत हुने धारणा राख्नुभयो ।

पूर्वसांसद हीरा गुरुङ, नेपाल प्रेस युनियनका उपमहासचिव तथा किताबका सम्पादक युवराज गौतम, नेपाल तरुण दल केन्द्रीय सानुबाबु महर्जन लगायतले पनि मन्तव्य राख्नुभएको थियो । पुस्तकका लेखक लाओसले जनता, नेतृत्व, अर्थतन्त्र र सुरक्षाको संयोजन राष्ट्रवादभित्र पर्ने धारणा राख्दै ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्र प्रेम ?’ किताबलाई देशभर पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button