आमा समूहलाई कुटानी/पिसानी मिल र कुर्सी हस्तान्तरण
खोटाङ । महिलाको कार्यबोझ घटाउँदै जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय मिल उपलब्ध गराइएको छ । गत आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत विनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत खरिद गरिएको कुटानी/पिसानी मिल हस्तान्तरण गरिएको हो ।
मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीको अध्यक्षता, गाउँपालिका प्रमुख रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपप्रमुख बिर्सिका राईको विशेष आथित्यतामा कुटानी/पिसानी मिलसँगै आमा समूहको बैठक कक्षका लागि कुर्सी समेत हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले पालिकाद्वारा हस्तान्तरण गरिएको कुटानी/पिसानी मिलले महिलाको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यबोझ घटाउने कुरामा आशावादी रहेको बताउनुभयो ।
नागरिकले देखेको सपनालाई साकार बनाउन गाउँपालिका सरकार प्रतिबद्ध रहेको प्रमुख राईले बताउनुभयो ।
विभिन्न समयमा बस्ने आमा समूहको बैठकका लागि कुर्सी अभाव भएको साथै घरायसी मिलको अभावमा महिलालाई ढिकी जाँतो गर्न समेत समस्या भइरहँदा जीवनयापनलाई सहज बनाउन उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको उपप्रमुख राईले बताउनुभयो । कुटानी/पिसानी मिल र कुर्सी पालिकाका सबै वडाका महिला समूहलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्