तपाईँ सुन्दै हुनुहुन्छः

विश्व खाद्यको गुणस्तरहीन चामल पुनः जाँच गर्न निर्देशन

नेपालगञ्ज । भन्सार विभागले विश्व खाद्य कार्यक्रमको चामलको पुनः जाँच गर्न निर्देशन दिएको छ । माघ १५ गते नेपालगञ्ज भन्सारमा आइपुगेको विश्व खाद्यको ५४ हजार किलो चामल गुणस्तरहीन देखिएपछि थन्किएको थियो ।

भन्सार विभागले पुनः एकपटक जाँच गर्न निर्देशन दिएसँगै नेपालगञ्ज भन्सार कार्यालयले चामलको जाँचका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जमा स्याम्पल पठाएको छ ।

यसअघि नै माघ १७ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चामल आयात गर्न नमिल्ने गुणस्तरहीन रहेको प्रमाणित गरेको थियो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माले भन्सार विभागले जनस्वास्थ्य र वातावरणमा कस्तो असर गर्छ, आयात गर्न मिल्छ कि मिल्दैन भन्ने जाँच गर्न निर्देशन दिए बमोजिम चामल जाँच गर्न पठाइएको जानकारी दिनुभयो ।

डब्लुबी ०३ डी ०१०७, डब्लुबी ११ सी ५९६०, एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनरमा ल्याइएको चामलको अस्वाभाविक गन्ध आउनुका साथै पूरै भिजेको अवस्थामा रहेको बताइएको छ ।

प्रज्ञापन पत्र नम्बर २२१५ बाट नेपालगञ्ज ल्याएको चामल कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली पठाउन थालिएको थियो । चामल अहिले नेपालगञ्ज भन्सार परिसरको गोदाममा थन्किएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button